@menubhat89
यसपालीको तीजमा आमा माइती सम्झी आउन पाइन
तिमीले पकाको दर तिम्रै हातले खान पाइन
दु:ख नमान आमा छोरी बिना तिज खल्लो भो भनि
सेवा नि आमाकै गरेको छु, राष्ट्रसेवक बनि
रातो सारी, रातो चुरा अनि रातो सिन्दूरमा सजाएझै आफुलाई
मनमा दृढ विश्वास बोकी,हरियो युनिफर्म अनि हरियो बेरेटमा सजाएकी छु
झम्के फुली नाकमा झल्काउँने रहरलाई सजाएर मनमा
काँधमा जिम्मेवारीको फुली बहन गरेकी छु
यसपालीको तीजमा आमा माइती सम्झी आउन पाइन
तिमीले पकाको दर तिम्रै हातले खान पाइन
हरियो छड्के काँधमा हाली सुनको तिलहरी मिलाएझै
लामो सिलिङ्ग भिरेर हतियार चलाउन पाएकी छु
पाऊँमा पाउजु कसी छमछमी नाचेसरी
बुटको तुना कसी पि.टी परेडमा रमाएकी छु
नङपालिसमा भन्दा बुट्पालिसको रङले टलक्क टल्केकी छु
पिर नगरे आमा मैले नि पुरुष सरहको जिम्मेवारी निभाकी छु
सधैं नासिब्मा चाडबाड मनाउन लेखको नहुँदो रहेछ
माइती, घर भनी संगै रम्न सधैँ नजुर्दो रहेछ।।
यसपालीको तीजमा आमा माइती सम्झी आउन पाइन
तिमीले पकाको दर तिम्रै हातले खान पाइन।।
यसपालिको तिज आमा परदेशमै मनाइने भो
साथीसंगी सबै मिली माइतीको न्यास्रो मेटाइने भो
तिम्रो याद समेटेर म यसपालिको तिज मनाउनछु
मैले त ऐना हेरी आफूलाई यसमै सौभाग्यवती पाएकी छु